विराटनगरमा गाई खेतमा छाडिएको विषयमा विवाद, कुटपिट आरोपमा बुबा–छोरा पक्राउ
विराटनगर, असार २० — मोरङको विराटनगर महानगरपालिका–१४, जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर भएको विवादपछि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार अपराह्न करिब ४ बजे गाईवस्तु खेतमा छाडिएको विषयमा विवाद हुँदा स्थानीय ५८ वर्षीय लक्ष्मी यादवमाथि कुटपिट भएको थियो। घटनामा उनी घाइते भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ सीआरभी जतुवाबाट प्रहरी सहायक निरीक्षक उर्मिला गुरुङको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–१४ जतुवाका ५९ वर्षीय धनपत यादव र उनका ३७ वर्षीय छोरा राजेश यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


