मोरङको लेटाङ स्थित जाँते दुर्घटनाकी घाइते युवतीको उपचारका क्रममा मृत्यु
लेटाङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा नौ दिनअघि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
मदन भण्डारी लोकमार्गअन्तर्गत असार ११ गते प्र १–०२–०६० प १७५५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको को २२ प ९५०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको मिकुवाखोला गाउँपालिका–२ निवासी ३० वर्षीय प्रवीण दाहाल, स्कुटर चालक लेटाङ नगरपालिका–९ की २५ वर्षीया चाँदनी राई तथा स्कुटरमा पछाडि सवार २२ वर्षीया मुना दाहाल घाइते भएका थिए।
घाइतेमध्ये गम्भीर अवस्थाकी मुना दाहालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो करिब ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रवीण दाहाल र स्कुटर चालक चाँदनी राईको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चाँदनी राईको अवस्था गम्भीर रहेको छ भने प्रवीण दाहालको अवस्था सामान्य छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


