कोशीमा लागू औषधविरुद्ध महाअभियान : ९ जना पक्राउ, ३६.८०८ ग्राम ब्राउन सुगर बरामद
विराटनगर, असार २१ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट ९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ३६ ग्राम ८०८ मिलिग्राम ब्राउन सुगर, लागू औषध NITZASCEN का ३०० ट्याब्लेट तथा ४ वटा सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार झापाको अर्जुनधारा–८ का सरोज गहतराजलाई बा.५७ प ७७३३ नम्बरको मोटरसाइकलसहित २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो। त्यस्तै, भद्रपुर क्षेत्रमा को.३७ प १४८७ नम्बरको मोटरसाइकलमा सवार बिर्तामोड–३ का विक्रम कार्की र दिवस दाहाललाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको छ।
बिर्तामोड–२ मा गरिएको चेकजाँचका क्रममा मे.८ प ८६७३ नम्बरको मोटरसाइकलमा सवार बिर्तामोड–१ का सुजित खवास र भारतको दरभङ्गाका कन्हैया ठाकुरलाई १ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, विराटनगर–१५ बाट सप्तरीका सुमित कुमार चौधरीलाई ९ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको छ। मोरङको सुन्दरहरैँचा–१० का जिबन राई र सुसान्त राईलाई २८ मिलिग्राम ब्राउन सुगर र NITZASCEN का ३०० ट्याब्लेट सहित पक्राउ गरिएको छ।
त्यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा गरिएको चेकजाँचका क्रममा प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाइकल चालक बराहक्षेत्र–७ का समिर खड्कालाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।


