बोलेरो जिप दुर्घटना: एक जनाको मृत्यु, १३ जना घाइते
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा जिपमा सवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार जिपमा चालकसहित १४ जना सवार थिए। चालकसहित अन्य १३ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।
उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


