कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ
रौतहट । रौतहटको गरुडा नगरपालिकामा एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट थप गोली, नगद र नाइट्राभेट ट्याबलेटसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा असार २२ गते खानतलासी गर्ने क्रममा गरुडा नगरपालिका–९ बिर्ताका करिब ४२ वर्षीय सदरे आलमको कमरमा भिरेको अवस्थामा एक नाल कटुवा पेस्तोल फेला परेको थियो। उक्त पेस्तोलमा एक राउण्ड गोली लोड गरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
पक्राउपछि असार २३ गते गरिएको सोधपुछका क्रममा सदरे आलमले सोही मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा नगद लुकाएर राखेको स्वीकार गरेका थिए। त्यसपछि उनलाई साथमा लिएर गरिएको खोजतलासका क्रममा कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, भारतीय २४ हजार ५ सय रुपैयाँ, नेपाली ३२ हजार ५ सय रुपैयाँ तथा २ पिस नाइट्राभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले हतियारको स्रोत, बरामद नगदको विवरण तथा अन्य सम्भावित संलग्नताको विषयमा थप अनुसन्धान अघि बढाएको छ।


