सुकुना विद्यालय घटनामा दुई शिक्षक र एक चालक पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विद्यालयका विद्यार्थीहरूले शिक्षकविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न देखिएका तीन जनालाई साउन ४ गते बिहान १० बजे नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक), सुन्दरहरैँचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ निवासी ३५ वर्षीय अबिरल मास्के रहेका छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भए कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाइएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङले घटनासम्बन्धी अपुष्ट वा भ्रामक सामग्री सामाजिक सञ्जालमा नफैलाउन सबैसँग अनुरोध गरेको छ। प्रहरीले सत्यतथ्यमा आधारित जानकारीका लागि आधिकारिक स्रोतमा मात्रै विश्वास गर्न आग्रह गर्दै अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।


