विराटनगरबाट कटुवा पेस्तोल र लागूऔषध सहित एक जना पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट प्रहरीले कटुवा पेस्तोल तथा विभिन्न प्रकारका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब १२ः१० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८.४८ किलोग्राम गाँजा तथा ३ ग्राम ०७ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।
बरामद भएका हतियार र लागूऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


