भोजपुर र ओखलढुंगामा अवैध गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट
विराटनगर, साउन ६ । कोशी प्रदेशअन्तर्गत भोजपुर र ओखलढुंगाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट र बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले साउन ५ गते भोजपुरको हतुवागढी गाउँपालिका–८ र ९ का डाँडापाखामा करिब ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाका बेर्ना तथा नाभो बोट फडानी गरी जलाएर नष्ट गरेको हो।
यस्तै, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका–१२ स्थित बारीमा प्राकृतिक रूपमा उम्रिएका ६० वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत अवैध रूपमा लगाइएका तथा उम्रिएका गाँजाका बोट फडानी गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।


