जंगलमा लुकाइएका ११ नाल भरुवा बन्दुक बरामद
दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल)बाट प्रहरीले ११ नाल भरुवा बन्दुक बरामद गरेको छ।
बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरेको थियो।
खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा बन्दुक कसले र किन लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


