मोरङको सामुदायिक वनबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
मोरङ । मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब ९ बजे सुनझोडा सामुदायिक वन क्षेत्रमा चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
वन क्षेत्रमा गस्ती गर्ने क्रममा प्रहरीले जङ्गलभित्र रातो प्लास्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विभिन्न विस्फोटक पदार्थ फेला पारेको हो।
बरामद गरिएका हातहतियार तथा विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय उर्लाबारीमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान अघि बढाएको छ।


