दोलखाको सिर्पिङ खोला ड्याम क्षेत्रमा पहिरो, एक वृद्ध सम्पर्कविहीन, चार कर्मचारीको सकुशल उद्धार
दोलखा । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिक गएको पहिरोमा परी एक वृद्ध सम्पर्कविहीन भएका छन् भने चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ।
बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्यामका कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। असुरक्षित अवस्थामा रहेका चार जना कर्मचारीलाई बिहान ७:१५ बजे नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
त्यसैगरी, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका–९ टासिनामका करिब ७३ वर्षीय चस्मान (तसमान) तामाङको गोठ पहिरोसँगै बगेको छ। पहिरोमा गोठमा रहेका ७ वटा बाख्रा, ९ वटा गाई र ३ वटा गोरु पनि बगेका छन्।
हालसम्म चस्मान तामाङ सम्पर्कविहीन रहेका छन्। उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी घटनास्थलमा सक्रिय रूपमा परिचालन भएको छ। स्थानीयवासी तथा अन्य सुरक्षा निकायको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


