गृह मन्त्रालयद्वारा सुरक्षा निगरानी कडा, संवेदनशील क्षेत्रमा ड्रोनबाट अनुगमन
काठमाडौँ । गृह मन्त्रालयले कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत निगरानीलाई तीव्र पारिएको मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने तथा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइनेछ।
प्रशासनले आम नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै भ्रामक सूचना, अफवाह वा उक्साहटमा नलाग्न अपिल गरेको छ।
सुनसरीबाट सुरु भएको तनाव पछिल्ला दिनहरूमा मधेस प्रदेशका केही जिल्लासम्म फैलिएको छ। साउन १० यता सुनसरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भइसकेको छ भने सिरहामा पनि एक जनाको ज्यान गएको छ।
गृह मन्त्रालयले सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको तथा संवेदनशील क्षेत्रमा निगरानी र सुरक्षा परिचालन थप प्रभावकारी बनाइएको जनाएको छ।


