धनकुटाको पाख्रिबासका दुई जना सहित कोशीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र ब्राउन सुगर सहित ५ जना पक्राउ
विराटनगर, साउन १९ । सुनसरी, मोरङ र धनकुटाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि तथा लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन १८ गते सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनबाट इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–११ निवासी ३१ वर्षीय डिकेन्द्र लिम्बु र धनकुटाको पाख्रिबास नगरपालिका–५ निवासी २० वर्षीय प्रजोल राईलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रतिबन्धित औषधि डाइसाइक्लोमिन ९०० ट्याब्लेट र ट्रामोल ९०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैदिन सुनसरीको इनरुवा नगरपालिका–१० टोकी नहर चोकमा जाल्पापुरबाट टोकीतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले अस्थायी प्रहरी चौकी साम्बलाबाट खटिएको प्रहरी टोलीलाई देखेपछि झोला नालीमा फालेर मोटरसाइकलसहित फरार भएका थिए। प्रहरीले झोलाको खानतलासी गर्दा प्रतिबन्धित औषधि स्पास ५ हजार ट्याब्लेट र ट्रामोल ५ हजार ट्याब्लेट फेला पारेको छ। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको जहदा गाउँपालिका–६ पोखरियाबाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले कटहरी गाउँपालिका–७ निवासी २१ वर्षीय श्रवण खडियारी र २० वर्षीय सविन उराँवलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रतिबन्धित औषधि निट्राजेपाम १० ट्याब्लेट र एसपीएम प्राक्सा ३ ट्याब्लेट बरामद गरिएको छ।
त्यसैगरी, धनकुटा नगरपालिका–१ अन्तर्गत हिले–पाख्रिबास सडकखण्डमा प्रहरी चौकी हिलेबाट खटिएको टोलीले पाख्रिबास नगरपालिका–७ मुगा निवासी ३२ वर्षीय हरी तामाङलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


