ताप्लेजुङमा मुकुमलुङ साहित्य प्रतिष्ठानको भव्य साहित्यिक कार्यक्रम
ताप्लेजुङ । मुकुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार चन्द्र मादेन आन्छनको कथा संग्रहको समीक्षात्मक विमर्श तथा खुला कविता वाचन कार्यक्रम ताप्लेजुङको फुङलिङमा सम्पन्न भएको छ।
आइतबार फुङलिङ नगरपालिका–स्थित जानु इन होटलमा आयोजित कार्यक्रम मुकुमलुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल तथा विशिष्ट अतिथिका रूपमा कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र प्राज्ञ रविमान लम्जेल सहभागी थिए।
कार्यक्रममा साहित्यकार हर्क यक्सो, भरत गुरुङ, समाजसेवी सुन्दरमोहन शाक्य, रामचन्द्र नेपाल, कृतिमान मादेन, प्रिन्सिपल युवराज गिरी, नेपाली कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम, क्याम्पस प्रमुख सजन पौड्याल, प्राज्ञ सुरज मादेन, प्रधानाध्यापक किशोर राई तथा पत्रकार खगेन्द्र अधिकारी, कृष्ण फुरुम्बो, सन्तोष पुर्कोटी, बसन्त लिम्बूलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा साहित्यकार तथा प्रतिष्ठानका प्रमुख सल्लाहकार चन्द्र मादेन आन्छनले स्वागत मन्तव्यसँगै कविता वाचन गरेका थिए। त्यसपछि आन्छनको कथा संग्रहबारे वरिष्ठ साहित्यकार हर्क यक्सो र साहित्यकार नवराज आचार्यले समीक्षात्मक विमर्श गरेका थिए।
कार्यक्रममा पूर्वप्रदेशमन्त्री बलबहादुर साम्सोहाङ, पत्रकार खगेन्द्र अधिकारी, युवराज गिरी, गजेन्द्र तुम्याहाङ, सुन्दरमोहन शाक्य, भरत गुरुङ, विकास गौतम तथा फुङलिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको प्रशंसा गरेका थिए।
सोही अवसरमा तीन दशकभन्दा बढी समयदेखि ताप्लेजुङको साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएका प्राज्ञ रविमान लम्जेललाई सम्मान गरिएको थियो। उनलाई ताम्रपत्र, खादा तथा नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कवयित्री लिला आँसुको सञ्चालनमा भएको खुला सिर्जना वाचन कार्यक्रममा १० वर्षका बालस्रष्टादेखि ७५ वर्षका ज्येष्ठ साहित्यकारसम्म सहभागी भएका थिए। विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा साहित्यकारसहित ५० भन्दा बढी स्रष्टाले नेपाली, लिम्बू र अंग्रेजी भाषामा कविता, गजल, मुक्तक, गीत तथा विभिन्न विधाका सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रममा सुनिता भुर्तेल पौड्याल, नवराज आचार्य, गणेश लङ्गवा, खगेन्द्रकुमार कार्की, मणिकुमार लिम्बू, सीता पिरती, निमा विश्वकर्मा, जीवन कालिकोटे, उदय भट्टराई, लेकाली कान्छा, बिरही कान्छा, पोष्टबहादुर गुरुङ, रविन्द्र केदेम, लक्ष्मी चुडाल, तेजकुमार मैनाली, रिता घिमिरे ‘घायल’, निर्मला पौडेल, रमेश पौडेल, उमेश अधिकारी, मिङ्सोहाङ मादेन, नियाराफुङ मादेन, डम्बर विक, भरत गुरुङ, निमा शेर्पा, मानसिंह राई, चन्द्र मादेन आन्छन, गजेन्द्र तुम्याहाङ, हर्क यक्सो, बलबहादुर साम्सोहाङ, लिला आँसु, सरिता गुरुङलगायतले सिर्जना प्रस्तुत गरेका थिए।
स्रष्टाहरूले देशभक्ति, क्रान्ति, शृङ्गार, वीर, रौद्र, करुण तथा हास्य रसका विभिन्न रचना प्रस्तुत गरेका थिए। साहित्यिक कार्यक्रममा नेत्रज्योति संघका इन्चार्ज तथा स्रष्टा काजी गुरुङले विभिन्न गीतको सुमधुर बाँसुरी धुन प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन दिएका थिए।
बाक्लो सहभागिता रहेको कार्यक्रम पाँच घण्टाभन्दा बढी समय चलेको थियो। कार्यक्रममा प्रमुख अतिथि उमेश कुमार दाहाल, स्रष्टा काजी गुरुङ र वरिष्ठ साहित्यकार हर्क यक्सोलाई आयोजकका तर्फबाट ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो। सिर्जना वाचनमा सहभागी सम्पूर्ण स्रष्टालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
समापनमा प्रमुख अतिथि दाहालले आफूलाई कार्यक्रममा सहभागी गराएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै ताप्लेजुङमा साहित्यप्रति यति ठूलो उत्साह र सिर्जनशीलता देख्न पाउँदा आफू प्रभावित भएको बताए।
कार्यक्रमका सभापति मनिष हेल्लोकले कार्यक्रम सञ्चालनका क्रममा भएका कमीकमजोरीप्रति क्षमा माग्दै उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा, साहित्यप्रेमी तथा सहयोगीप्रति आभार व्यक्त गरेपछि कार्यक्रम समापन भएको थियो।






