झापामा प्रहरी प्रमुख खनालको निरीक्षण, सीमा अपराध र विपद् व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन
विराटनगर, साउन २७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय झापा र विपद् व्यवस्थापन गुल्म चन्द्रगढीको निरीक्षण भ्रमण गर्नुभएको छ।
साउन २७ गते भएको निरीक्षणका क्रममा डीआईजी खनालले कार्यालय तथा विभिन्न शाखाको निरीक्षण गर्नुका साथै विपद् उद्धारमा प्रयोग हुने सामग्रीको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले कार्यरत प्रहरी कर्मचारी, मातहतका इकाई प्रमुख तथा सीमावर्ती क्षेत्रमा खटिएका प्रहरी अधिकृतहरूलाई आवश्यक निर्देशनसमेत दिनुभएको छ।
निर्देशनका क्रममा खनालले प्रहरी कर्मचारीको बोली, वचन र व्यवहारबाट नेपाल प्रहरी संगठनको छवि प्रतिबिम्बित हुने भएकाले नम्र, शिष्ट र सभ्य व्यवहारका साथ जनसेवामा समर्पित हुन आग्रह गर्नुभयो।
उहाँले पेन्डिङ मुद्दा फर्छ्यौटमा प्राथमिकता दिन तथा साइबर अपराध, अनलाइन ठगी, स्क्यामिङ, बेटिङ र हुण्डीलगायतका अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो।
झापाको खुला सीमाका कारण हुनसक्ने आपराधिक गतिविधि, अवैध चोरी–निकासी तथा पैठारी र लागूऔषध ओसारपसार नियन्त्रणका लागि कडाइका साथ चेकजाँच तथा विशेष अपरेसन सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभयो।
त्यस्तै, समुदायबीच वैमनस्य तथा द्वन्द्व सिर्जना गर्न खोज्ने व्यक्ति र सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेमाथि निगरानी बढाई कानुनी कारबाही गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन र समुदाय–प्रहरी साझेदारीमार्फत सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन उहाँले निर्देशन दिनुभयो।
मनसुनजन्य विपद्का घटना हुने सम्भावना अझै रहेकाले उद्धार सामग्रीसहित तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुन सक्ने गरी प्रहरीलाई तयारी अवस्थामा रहनसमेत उहाँले निर्देशन दिनुभयो।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना, सुरक्षा चुनौती तथा भारतीय समकक्षी सुरक्षा निकायसँगको समन्वय र सहकार्यलगायतका विषयमा डीआईजी खनाललाई जानकारी गराउनुभएको थियो।


