पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
सुनछहरी गाउँपालिका–२ फलबाङमा साउन २९ गते बिहान करिब ८ः१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो। पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर बेपत्ता भएका छन्।
उनीहरू तीनै जना राति सोही घरमा बास बसेका थिए। बिहान पहिरोले घर पुरिएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।
यस्तै, सोही वडाको गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको जनाइएको छ।
घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ। घटनाको थप विस्तृत विवरण आउन बाँकी छ।


