हुम्लामा ५१ लाख भन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा बरामद
हुम्ला, २९ साउन । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ।
जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला प्रहरी कार्यालय हुम्ला, सशस्त्र प्रहरी बल नं. ४४ गुल्म हुम्ला, राष्ट्रिय अनुसन्धान विभाग हुम्ला र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले साउन २८ गते उक्त मदिरा बरामद गरेको हो।
प्रहरीका अनुसार चीनबाट अवैध रूपमा नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको ५९४ कार्टुन झिनिगिन्टी मदिरा बरामद भएको छ। ती कार्टुनमा ७ हजार १२८ बोतल मदिरा रहेका छन्।
त्यस्तै, चाइनिज बोर्ड भाइजर (बियर) १९४ कार्टुनमा ४ हजार ६५६ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद मदिराको बजार मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
बरामद गरिएको प्रतिबन्धित चिनियाँ मदिरा जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


