अपडेट : रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो, सबै बेपत्ताको अवस्था खुल्यो
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
पछिल्लो पटक एक महिलाको शव फेला परेसँगै पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको हो।
सुनछहरी गाउँपालिका–२ मङरारुकी करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनको खोजी गर्ने क्रममा शुक्रबार दिउँसो २ः३० बजे भान्साघरमा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो।
लामी घर्तीको शव फेला परेसँगै फलबाङ र मङरारुमा पहिरोका कारण बेपत्ता रहेका सबैको अवस्था खुलेको छ। उक्त घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ।


