विराटनगरमा मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको सकुशल उद्धार, अस्पतालमा उपचार हुँदै
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी अस्पताल पुर्याएको छ।
करिब २–३ दिनको जस्तो देखिने नवजात शिशु छोरा उक्त स्थानमा फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शिशुको उद्धार गरेको हो।
प्रहरीले उद्धार गरिएका शिशुलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्याएको जनाएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

