आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै
काठमाडाैं, १९ भदाैं । आज श्रीकृष्ण जन्माष्टमी । श्रीकृष्ण जन्माष्टमी (गोकुलाष्टमी) हिन्दू धर्मावलम्बीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण र पवित्र पर्व हो।
श्रीकृष्ण जन्माष्टमी भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने अति पवित्र पर्व हो। पौराणिक र धार्मिक मान्यता अनुसार यस पर्वको पृष्ठभूमि द्वापर युगको कथासँग जोडिएको छ।
द्वापर युगमा मथुरामा अत्याचारी राजा कंसको शासन थियो। उसले आफ्ना पिता उग्रसेनलाई जेलमा हालेर राज्यसत्ता कब्जा गरेको थियो। जब कंसले आफ्नी बहिनी देवकीको विवाह यदुवंशी वासुदेवसँग गरिदियो, त्यही समयमा एउटा आकाशवाणी भयो, “हे कंस ! जुन बहिनीलाई तँ खुसीसाथ लैजाँदैछस्, त्यही देवकीको आठौँ सन्तानको हातबाट तेरो वध हुनेछ।”
आकाशवाणी सुनेर भयभीत कंसले देवकी र वासुदेवलाई तत्कालै कारागारमा थुनिदिए। उनीहरूबाट जन्मेका एक-एक गरी सातवटा सन्तानलाई कंसले जन्मनासाथ निर्ममतापूर्वक मारिदियो। तर,भाद्रकृष्ण अष्टमीको मध्यरात (मोहरात्री) मा रोहिणी नक्षत्रको शुभ योगमा भगवान् विष्णुले देवकीको कोखबाट श्रीकृष्णका रूपमा अवतार लिए। भगवानकाे लीला अनुसार त्यतिबेला कारागारका पहरेदारहरू निद्रामा परे, हत्कडी र कारागारका ढोकाहरू स्वतः खुलेका थिए । र, त्यसपछि पीता वासुदेवले श्रीकृष्णलाई गोकुलतर्फ लगे । भीषण वर्षा र उफनिरहेको यमुना नदीका बीच वासुदेवले शिशु कृष्णलाई टोकरीमा राखी गोकुल पुर्याएका थिए ।
त्यहाँ नन्द र यशोदाको काखमा श्रीकृष्णलाई छाडी, उता जन्मेकी नवजात कन्या (योगमाया)लाई लिएर वासुदेव कारागार फर्के। तर, कंसले ती कन्यालाई मार्न खोज्दा उनी आकाशमा उडेर भनिन्, “तँलाई मार्ने काेही जन्मिइसकेको छ र गोकुलमा सुरक्षित छ।” पछि गोकुलमा हुर्केका बालकृष्णले आफ्ना अनेक लीलाहरू (पुतना, कालियानाग, केशी आदिको उद्धार) देखाउँदै अन्ततः मामा कंशको संहार गरी मातापिता तथा प्रजालाई अत्याचारबाट मुक्ति दिलाएका थिए ।
खासमा भाद्रकृष्ण अष्टमीका दिन मध्यरात (निराजन समय) मा श्रीकृष्णको जन्म द्वापर युगमा मथुरामा भएको थियो। साेही दिनकाे सम्झनामा श्रीकृष्णा जन्माअष्टमी मनाउँने गरिएकाे छ। श्रीकृष्णले श्रीमद्भगवद्गीतामार्फत मानवजातिलाई निष्काम कर्म (फलको आशा नगरी कर्म गर्नु) र धर्मरक्षाको मार्ग देखाएका थिए । त्यसैले यो पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उत्साहका साथ मनाइन्छ।
मनाउने तरिका:
व्रत तथा पूजा: भक्तजनहरू दिनभरि निराहार व्रत बस्छन् र मध्यरातमा कृष्णको जन्मोत्सव मनाई पूजा-आजा गरेपछि व्रत तोड्छन्।
झाँकी तथा कीर्तन: मठ-मन्दिरहरूमा कृष्णको बाललीला झल्किने झाँकीहरू प्रदर्शन गरिन्छन् र रातभर भजन-कीर्तन गरिन्छ।
नेपाल र भारतलगायत विश्वभरीका हिन्दुहरूले उत्सवकाे रूपमा मनाउँछन् । नेपालमा ललितपुरको प्रसिद्ध पाटन कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो घुइँचो लाग्छ।


