संखुवासभामा भरुवा बन्दुक प्रहारबाट शिक्षकको हत्या
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको भरुवा बन्दुक प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार गएराति करिब ७ बजे खाना खाएर हात धुन बाहिर निस्किएका बेला राईमाथि गोली प्रहार भएको थियो। गोली लागेर उनको देब्रे कोखमा चोट लागेको र रगत बगेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार विद्यालय नजिकैबाट राईमाथि भरुवा बन्दुक प्रहार गरिएको थियो। गोली चलेको आवाजसँगै शिक्षक राई ढलेको घटनास्थलमा रहेका व्यक्तिहरूले बताएका छन्।
घटनाको कारण र गोली प्रहार गर्ने व्यक्तिको पहिचान भने खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनास्थल हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।


