सामुदायिक वनमा लुकाइराखेका १० थान भरुवा बन्दुक बरामद
दाङ । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले १० थान भरुवा बन्दुक बरामद गरेको छ।
शुक्रबार बिहान ५ः३० बजेदेखि ८ः०० बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा ती भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बबई गाउँपालिका–४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ नाल, लमही नगरपालिका–३ स्थित जखेरा सामुदायिक वनबाट ५ नाल र बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक बरामद गरिएको हो।
यसरी विभिन्न सामुदायिक वनबाट जम्मा १० नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका बन्दुक कसले, कुन प्रयोजनका लागि र कहिलेदेखि वन क्षेत्रमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासँग सम्बन्धित व्यक्तिको पहिचान तथा हतियारको स्रोतबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


