धनकुटा जिल्ला अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र सञ्चालन
धनकुटा । धनकुटा जिल्ला अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ।
नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसर पारेर जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी धनकुटाको सहकार्यमा रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको हो। केन्द्रको कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले शुक्रबार उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा मन्त्री पराजुलीले रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।
उनले धनकुटामा रक्तसञ्चार सेवा सुरु भएपछि जिल्लाका साथै तेह्रथुम, भोजपुर र संखुवासभाका नागरिकलाई समेत आकस्मिक अवस्थामा सहज हुने बताए। जिल्ला अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले त्यसका लागि स्थानीयवासीको सहयोग आवश्यक रहेको उल्लेख गरे।
नेपाल रेडक्रस सोसाइटी धनकुटाका सभापति छत्रबहादुर श्रेष्ठले केन्द्रबाट आजैदेखि सेवा लिन सकिने बताए। उनका अनुसार सेवा २४सै घण्टा सञ्चालन गर्न तीन जना कर्मचारी आवश्यक पर्छ।
कर्मचारी व्यवस्थापनमा केही चुनौती रहेको भन्दै श्रेष्ठले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए।
स्थापना दिवसको अवसरमा रेडक्रसले जिल्ला अस्पताल परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो। रक्तसञ्चार सेवा केन्द्र स्थापनाका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तिहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो।
यसैबीच, रेडक्रस धनकुटाले विपद्का समयमा प्रयोग हुने आवश्यक सामग्री नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई दुई–दुई थान वितरण गरेको छ।


