ठूलो परिमाणमा लागुऔषध गाँजा सहित २१ वर्षीय युवक पक्राउ
पर्सा । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले पकहामैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो।
शुक्रबार राति करिब ८:४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रंगको निशान कार रोकेर चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए।
ती पोकाहरू खोली जाँच गर्दा प्लास्टिकसहितको तौल ११४ किलो २५ ग्राम लागुऔषध गाँजा रहेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ बस्ने २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा र उक्त कारसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले बरामद गाँजा कहाँबाट ल्याइएको, कहाँ लैजान लागिएको थियो तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

