सुनसरीमा भन्सार छलीका एक लाख रुपैयाँभन्दा बढीका किराना सामान बरामद
सुनसरी । सुनसरीमा प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिकैको भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा अन्दाजी रु. १ लाख ६३० रुपैयाँ बराबरका विभिन्न किराना सामान नियन्त्रणमा लिइएको हो।
बरामद सामान इलाका प्रहरी कार्यालय लौकहीमा ल्याइएको र आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिविरुद्ध निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।

