जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
पर्सा, २२ भदौ । जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय 'राजवा' भनिने अखिलेश साह तेली रहेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको टोलीले उनलाई भदौ २० गते दिउँसो उनकै घरबाट नियन्त्रणमा लिएको हो।
जबरजस्ती करणी सम्बन्धी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला गरेपछि उनी फरार रहँदै आएका थिए। पक्राउ परेका तेलीलाई कैद भुक्तान तथा आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

