सुनसरीमा भन्सार छली ल्याइएको युरिया मल सहित ४ लाख बढीको सामान बरामद
सुनसरी, भदौ २२ गते । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली चोरी–निकासी गरी नेपाल भित्र्याइएका युरिया मल, राजनिवास, रजनिगन्धा र सुर्तीलगायतका अवैध सामान बरामद गरेको छ।
भदौ २१ गते राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका–१ मा भारतबाट भन्सार छली अवैध रूपमा ल्याई लुकाएर राखिएको अवस्थामा अन्दाजी ३ लाख १६ हजार ४ सय रुपैयाँ मूल्य बराबरको १२८ बोरा युरिया मल बरामद गरेको हो। प्रहरीले उक्त मल ओसारपसारमा प्रयोग भएको को ५ प ९१२० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट बेवारिसे अवस्थामा रहेको राजनिवास, रजनिगन्धा र सुर्ती बरामद गरेको छ। बरामद सामानको अन्दाजी मूल्य १ लाख २ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै स्थानबाट बरामद भएका करिब ४ लाख १८ हजार ४ सय रुपैयाँ बराबरका सामान आवश्यक कारबाहीका लागि सेतुबन्धु भन्सार कार्यालय, कोशी ब्यारेज पठाइएको छ।

