भोजपुरमा ४ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट
भोजपुर, भदौ २२ गते । भोजपुरमा प्रहरीले करिब ४ रोपनी क्षेत्रफलमा अवैधरूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ।
भदौ २१ गते इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट गस्तीमा खटिएको प्रहरी टोलीले ज्यामिरे, हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न क्षेत्रका डाँडा–पाखामा लगाइएको गाँजा फेला पारेको थियो।
प्रहरीका अनुसार उक्त क्षेत्रबाट ४ हजार ३ सय ७० वटा गाँजाका बेर्ना तथा बोट फडानी गरी आगो लगाएर नष्ट गरिएको हो।
प्रहरीले अवैध गाँजा खेती नियन्त्रण तथा लागुऔषधविरुद्धको अभियानअन्तर्गत उक्त कारबाही गरेको जनाएको छ।

