वृद्ध दम्पतीलाई बन्धक बनाई डकैती गर्ने गिरोहका पाँच जना पक्राउ
रामेछाप, भदौ २२ गते । रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाई घरमा डकैती गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई गत भदौ १८ गते राति घरमै सुतिरहेको अवस्थामा नकाबधारी तीन जनाको समूहले बन्धक बनाई डकैती गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति करिब १२ बजे घरको ढोका खोली भित्र प्रवेश गरेका उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाएका थिए। ज्यान मार्ने धम्की दिई नियन्त्रणमा लिएपछि उनीहरूले दम्पतीले लगाएका गरगहना तथा घरमा राखिएको नगद लुटेर फरार भएका थिए।
घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले डकैतीमा संलग्न रहेको आरोपमा पाँच जनालाई भदौ २० गते भक्तपुर जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूबाट डकैतीमा प्रयोग भएको सवारीसाधन तथा विभिन्न सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुली घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर रहेका छन्। काठमाडौंको निजी विद्यालयमा सवारी चालकको काम गर्ने मगरको साथबाट २५ हजार रुपैयाँ नगद, Redmi कम्पनीको मोबाइल र बा.७३ प ८७१२ नम्बरको २२० सीसीको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दिर्घराज मोक्तान पक्राउ परेका छन्। बसका सहचालकको रूपमा काम गर्ने मोक्तानको साथबाट ५२ हजार २०० रुपैयाँ नगद, नेपाली नागरिकता, राहदानी, NMB बैंकको चेक, Global IME Bank को राजस्व तिरेको बिल तथा घटनामा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको छ।
खाँडादेवी–२ मझुवाका ३३ वर्षीय पशुपति श्रेष्ठ पनि पक्राउ परेका छन्। काठमाडौंमा मोटरसाइकलमार्फत इन्ड्राइभ चलाउने श्रेष्ठको साथबाट बा.७२ प ५५८ नम्बरको मोटरसाइकल, ६ हजार ४६० रुपैयाँ नगद, मोबाइल, विभिन्न बैंक तथा सहकारीसम्बन्धी कागजात, नागरिकता, बुद्धचित्तको २२ वटा दाना, ढलौटको पानस–टुकी दुई थान, पुराना सिक्का पाँच थान र सुनजस्तो पहेँलो धातुको औँठी एक थान बरामद भएको प्रहरीले जनाएको छ। उनको लक्ष्मी सनराइज बैंक खातामा १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा मौज्दात रहेको समेत प्रहरीले जनाएको छ।
झापा दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज पनि पक्राउ परेका छन्। भक्तपुरमा सुनचाँदी व्यवसाय गर्ने गहतराजको साथबाट मोबाइल एक थान बरामद भएको छ।
त्यस्तै, धनकुटा बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय दिपक भन्ने गुणराज विश्वकर्मा पक्राउ परेका छन्। उनको साथबाट सुनजस्तो पहेँलो धातुको रिङ दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ।
अन्य चोरीका घटनामा समेत संलग्नता
प्रहरीको अनुसन्धानबाट पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको समूह रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाई रकम चोरी गरेको घटनामा समेत संलग्न रहेको खुलेको छ।
त्यस्तै, भदौ १ गते राति खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको करिब २८–३० किलोको खसी र भदौ ७ गते राति सोही वडाका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी भएको घटनामा समेत पशुपति श्रेष्ठको समूहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको Criminal Record System (CRS) मा जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको, दिर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र दिपक भन्ने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

