भोटेकोशी बाढीमा ज्यान गुमाएकाको स्मरणमा धनकुटामा दीप प्रज्वलन
सुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा धनकुटाको भीमनारायण चोकसहित विभिन्न स्थानमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटा र कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एक मिनेट मौनधारण गर्दै भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राईले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेकी थिइन्।
कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
धनकुटाका अन्य स्थानमा पनि विभिन्न संघसंस्थाले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मरणमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए।

