झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित १२ जना पक्राउ
विराटनगर, भदौ २३ गते । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलामबाट प्रहरीले लागू औषधसहित १२ जनालाई पक्राउ गरेको छ।
भदौ २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले बराहक्षेत्र–२ का ४० वर्षीय कर्णबहादुर राईलाई २५ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र प्रदेश ०१–०२–०५१ प ४८०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–१० का मनोज शिवु मण्डललाई ३९० मिलिग्राम ब्राउन सुगर तथा इलाका प्रहरी कार्यालय पकलीले इटहरी–१७ का अबु खानलाई १९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सोही दिन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी–७ का दिनेश चौधरीलाई उनकै घरबाट ८७० मिलिग्राम ब्राउन सुगर र ३ किलो ९४० ग्राम गाँजासहित पक्राउ गरेको छ।
झापामा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले कनकाई–४ का रोशन चौधरीलाई १० ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका–११ का गोविन्द श्रेष्ठ र बिर्तामोड–११ का कृष्णबहादुर प्रधानलाई ९ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
मोरङमा प्रहरी चौकी रमाइलोले कानेपोखरी गाउँपालिका–५ की जमुना चौधरीलाई उनकै घरबाट १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी–४ का मानबहादुर परियार र गौरव विश्वकर्मालाई १ किलो २८० ग्राम गाँजासहित पक्राउ गरेको छ।
यसैगरी, इलामको प्रहरी चौकी फिक्कलले सूर्योदय नगरपालिका–८ का मिककुमार तामाङ र रोशन तामाङलाई ८६० मिलिग्राम ब्राउन सुगर र प्रदेश १–०१–००१ ह ८७४७ नम्बरको अटोसहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

