मोटरसाइकल दुर्घटना हुंदा एक युवतीको मृत्यु
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सिर्जना नगरस्थित महाकाली पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
बुधबार बिहान करिब ९ः५० बजे सल्लाघारीबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प १५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–४ घर भई हाल भक्तपुरको झौखेल बस्दै आएका ३० वर्षीय नुरबहादुर अछामी र मोटरसाइकलको पछाडि सवार सूर्यविनायक नगरपालिका–५, सल्लाघारीकी २२ वर्षीया कृषा राजभण्डारी घाइते भएका थिए।
दुवै घाइतेलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा कृषा राजभण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक नुरबहादुर अछामीको उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

