प्रमुख तथा साना नदीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह
काठमाडौं, २५ भदौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकालीसहित तिनका सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ। यसैगरी ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र गोर्खाका साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको छ।
यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्लाका नदी तथा खोलामा समेत बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनिएको छ। महाशाखाले आगामी दुई दिनसम्म अधिकांश नदीमा जलसतह बढ्ने र केही साना खोलाहरूमा अचानक बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ।

