रौतहटको पेटभर्वामा डिजे विवादले झडपको रूप लियो, दुवै पक्षका घाइते

सञ्जय मिश्रा/ रौतहट, २५ भदौ । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा कृष्ण जन्माष्टमीको छठियारका अवसरमा आयोजित मूर्ति विसर्जनपछि डिजेमा गीत बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्।

स्थानीयका अनुसार बुधबार साँझ करिब ७ बजे मूर्ति विसर्जन सम्पन्न भएपछि डिजेमा गीत बजाउने विषयमा विवाद सुरु भएको थियो। सामान्य विवादले उग्र रूप लिएपछि दुई पक्षबीच हात हालाहाल भएको हो।

घटनामा डिजे सञ्चालक दिलीप साहको टाउकोमा चोट लागेको छ। उनका भाइ मोहन साहको आँखा र मुखमा चोट लागेको बताइएको छ। रामअधार साहको हातमा गम्भीर चोट लागेको तथा महादेव ठाकुरसहित अन्य केही व्यक्ति पनि घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जनाइएको छ।

यस्तै, अर्को पक्षका विजय यादवको नाकको हड्डी तथा कानमा चोट लागेको बताइएको छ। मजय यादव पनि घाइते भएका छन्। उनीहरूको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

इलाका प्रहरी कार्यालय विजयपुरका अनुसार मठमा डिजेमा गीत बजाउने विषयलाई लिएर दुई पक्षबीच विवादपछि झडप भएको हो। 

गीत बजाउने विषयमा फरक–फरक दाबी

घटनाको कारणबारे स्थानीय र वडाध्यक्षको भनाइ भने फरक–फरक देखिएको छ। फतुवा विजयपुर नगरपालिका–६ का वडाध्यक्ष रामएकबाल यादवका अनुसार पूजास्थलमा कृष्ण भगवानसँग सम्बन्धित गीत बजाउन एक पक्षले आग्रह गरेको थियो। उक्त गीत नबजाएपछि विवाद उत्पन्न भएको उनको भनाइ छ।

तर, जातिलक्षित गीत बजाएको विषयमा विवाद भएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको वडाध्यक्ष यादवले स्पष्ट पारे।

गाउँको नाम परिवर्तन विवादको पृष्ठभूमि

पेटभर्वामा भएको पछिल्लो झडपलाई स्थानीयले केही महिनादेखि चल्दै आएको गाउँको नाम परिवर्तनसम्बन्धी विवादसँग पनि जोडेर हेरेका छन्।

स्थानीयका अनुसार पेटभर्वा गाउँको ऐतिहासिक नाम परिवर्तन गरी ‘यदुवंशीनगर’ राख्ने प्रयास भएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ। नाम परिवर्तन जातीय आधारमा गर्न खोजिएको आरोप लगाउँदै केही स्थानीयले त्यसको विरोध गर्दै आएका छन्।

नाम परिवर्तनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय हुँदै सर्वोच्च अदालतसम्म मुद्दा पुगेको र उक्त विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको स्थानीयको भनाइ छ।

यसअघि यही विवादको पृष्ठभूमिमा रक्षा बन्धनका अवसरमा हरेक वर्ष लाग्दै आएको पेटभर्वा मेलासमेत स्थगित गरिएको थियो।

लामो समयदेखि कायम रहेको नाम परिवर्तनसम्बन्धी विवादकै बीच डिजे बजाउने विषयमा झडप भएपछि पेटभर्वाको सामाजिक वातावरण थप संवेदनशील बन्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

घटनापछि प्रहरीले दुवै पक्षबीच थप विवाद हुन नदिन निगरानी बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।