उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या,श्रीमान पक्राउ
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा श्रीमानले सिकल प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया बिमला राई रहेकी छन्। प्रहरीका अनुसार करिब ५८ वर्षीय उनका श्रीमान् गन्दुराम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा बिमलाको गर्दनमा धारिलो हतियार (सिकल) प्रहार गरेका थिए।
घटनापछि गन्दुराम आफैंले राति करिब १२ः३० बजे अस्थायी प्रहरी पोस्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको छ।
घाइते बिमलालाई प्रहरी टोलीले तत्काल नगर अस्पताल बेल्टार पुर्याएको थियो। उपचारका क्रममा राति १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

