सप्तरीमा २० क्विन्टल गाँजा सहित दुई जना पक्राउ
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले स्थानीय भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल करिब २ हजार किलो अर्थात् २० क्विन्टल रहेको बताइएको छ।
प्रहरीले बरामद पदार्थसहित भोला सदा र मंगल मुखियालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

