विद्यालय परिसरमा राजनीतिक गतिविधि नगर्न सुनसरी प्रशासनको निर्देशन
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका कुनै पनि विद्यालय परिसरमा राजनीतिक दलका गतिविधि तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ।
प्रशासनले सूचना जारी गर्दै सार्वजनिक विद्यालयका कक्षाकोठा तथा परिसरमा राजनीतिक दलसम्बन्धी कार्यक्रम भइरहेको भन्दै गुनासो आएको जनाएको छ। विद्यालयजस्तो शैक्षिक र संवेदनशील क्षेत्रमा पठनपाठनबाहेक दलगत गतिविधि नगर्न प्रशासनले आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी सूचनामा चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेला लगायतका राजनीतिक कार्यक्रम विद्यालयमा नगर्न र नगराउन जिल्लास्थित सम्पूर्ण राजनीतिक दललाई आग्रह गरिएको छ।
त्यस्तै, विद्यालय परिसरमा राजनीतिक गतिविधि हुन नदिन प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय तहलाई समेत आवश्यक पहल गर्न प्रशासनले आग्रह गरेको छ।

