प्रतिनिधिसभा बैठक आज बस्दै, चार विधेयक पेस हुने
काठमाडौं, ७ असोज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरू प्रस्तुत तथा छलफलका लागि अघि बढाउने सम्भावित कार्यसूची रहेको छ।
बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम छ।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पेस हुनेछन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष पेस गर्नेछिन्।
प्रतिनिधिसभाको पूर्ण बैठकका अतिरिक्त आज विभिन्न पाँच वटा संसदीय समितिका बैठकहरू पनि बस्दै छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

