झापामा बंगुर फार्म पछाडि गाडिएको मानव कंकाल फेला, दुई जना पक्राउ
झापा । झापाको मेचीनगर–७ गैरीगाउँस्थित बंगुर फार्म पछाडि गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दी घर भई मेचीनगर–१० बस्ने ४५ वर्षीय राम भन्ने गुप्तबहादुर सिंह र भारतको अलिपुरद्वार, वीरपारा घर भई मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्।
प्रहरीका अनुसार फेला परेको कंकाल करिब दुई वर्षदेखि बेपत्ता रहेका दिलनाथ बजगाईँको हुन सक्ने आशंका गरिएको छ। बजगाईँ २०८१ कात्तिक २९ गते मेचीनगर–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए।
अनुसन्धानका क्रममा बजगाईँसँगै हिँडडुल गर्ने सिंहमाथि सोधपुछ गर्दा उनले हत्या गरी शव गाडेको स्वीकार गरेको प्रहरीले जनाएको छ। सिंहले देखाएको स्थानमा उत्खनन् गर्दा मानव कंकाल फेला परेको हो।
बरामद कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। कंकाल बजगाईँकै हो वा होइन यकिन गर्न थप परीक्षणका लागि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

