अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध, राति सवारी सञ्चालनमा रोक

विराटनगर । अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा पहिरो, हिलो–लेदो तथा नदी खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पाँचथर, तेह्रथुम, इलाम, ताप्लेजुङ र सोलुखुम्बुलगायत जिल्लाका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।

विभिन्न स्थानमा सडक अवरुद्ध

पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको छ। तुम्बेवा गाउँपालिका–२ नावाखोलामा पानीको बहाव बढेको तथा फालेलुङ गाउँपालिका–२ बरडाँडामा पनि पहिरो झरेको प्रहरीले जनाएको छ।

त्यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित सडकमा हिलो तथा लेदो जमेको छ। इलामको माईजोगमाई गाउँपालिका–४ स्थित जोगमाई खोलामा पानीको बहाव बढेको छ भने सूर्योदय नगरपालिका–१ स्थित मयुम खोलामा पनि पानीको बहाव बढेको जनाइएको छ।

इलाम नगरपालिका–९ मा पहिरो झरेका कारण इलाम–बिर्तामोड भित्री सडकखण्ड प्रभावित भएको छ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभान र वडा नम्बर १ मिरिङदिङमा पहिरो झरेको प्रहरीले जनाएको छ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ साल्मेमा पहिरो झरेपछि सिद्धिचरण लोकमार्ग प्रभावित भएको छ।

रातिको समयमा सवारी सञ्चालनमा रोक

वर्षाका कारण सम्भावित दुर्घटना तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै कोशी प्रदेशका विभिन्न जिल्लामा लोकमार्ग तथा भित्री सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीका अनुसार धनकुटा र तेह्रथुममा असोज ८ गतेदेखि ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

इलाम, पाँचथर र ताप्लेजुङमा असोज ७ गतेदेखि ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

संखुवासभामा असोज ९ गतेदेखि १० गतेसम्म बेलुकी ६ः३० बजेदेखि बिहान ५ बजेसम्म तथा भोजपुरमा असोज ९ गतेदेखि ११ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको विवरणमा उल्लेख छ।

त्यस्तै, सोलुखुम्बुमा असोज ८ गतेदेखि निरन्तर रूपमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म तथा उदयपुरमा असोज ८ गतेदेखि १२ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीले वर्षाका कारण सडकमा पहिरो तथा बाढीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक रातिको समयमा यात्रा नगर्न तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖