भोटेकोशी बाढीमा बुबा गुमाएका राजविराजका दुई बालबालिकाको जिम्मेवारी डा. बबी सिंहले लिने
रौतहट, ९ असोज। रसुवाकाे भोटेकोशी बाढीमा बुवा गुमाएका सप्तरीको राजविराज–१६, बोरियाका दुई बालबालिकाको पालनपोषण तथा शिक्षाको जिम्मेवारी डा. बबी सिंहले लिने घोषणा गरेकी छन्।
मधेशी एकता समाज, नेपाल इकाइकी अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य सिंहले १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनीको बालिग नहुँदासम्म खानपान र अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेकी हुन्।
यी दुई बालबालिकाले यसअघि नै क्यान्सरका कारण आमासमेत गुमाइसकेका थिए। पछिल्लो समय रसुवामा आएको बाढीमा बुवाको पनि मृत्यु भएपछि उनीहरू अभिभावकविहीन बनेका हुन्।
अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्य प्रभावित नहोस् भन्ने उद्देश्यले आफूले जिम्मेवारी लिने निर्णय गरेको डा. सिंहले बताएकी छन्।
उनको घोषणापछि स्थानीयस्तरमा सामाजिक सहयोगको प्रशंसा भएको सञ्चार माध्यमहरूले उल्लेख गरेको छ।बालबालिकाको दैनिक आवश्यकता पूरा गर्नुका साथै शिक्षालाई निरन्तरता दिने प्रतिबद्धताले उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने स्थानीयको भनाइ छ। डा. सिंह गत प्रतिनिधिसभा निर्वाचनमा सप्तरी ४ बाट जसपा नेपालकी उम्मेदवारसमेत बनेकी थिइन्।

