धनकुटाको त्रिबेणी स्थित तमोर नदी सहित चार नदीमा पानीको सतह चेतावनी तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशका विभिन्न नदीमा पानीको सतह बढेपछि चार स्थानमा बाढीको चेतावनी जारी गरिएको छ।
जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको त्रिशूली नदीस्थित धुन्चे, काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी खोला, धनकुटाको त्रिवेणीस्थित तमोर नदी र सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पानीको सतह चेतावनी तहभन्दा माथि पुगेको छ।
शुक्रबार दिउँसो ३ः४० बजेको मापनअनुसार नुवाकोटको धुन्चेमा त्रिशूली नदीको पानीको सतह ३.५१ मिटर पुगेको छ। उक्त स्थानमा चेतावनी तह ३.२ मिटर रहेको छ। पानीको सतह बढ्दो क्रममा रहेकाले त्यहाँ चेतावनीको अवस्था देखाइएको छ।
काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी खोलामा पानीको सतह ४.४७ मिटर पुगेको छ। त्यहाँ चेतावनी तह ४ मिटर र खतरा तह ४.५ मिटर रहेको छ। पानीको सतह स्थिर रहे पनि चेतावनीको अवस्था कायम छ।
धनकुटाको त्रिवेणीस्थित तमोर नदीमा पानीको सतह ९.०३ मिटर पुगेको छ। उक्त स्थानको चेतावनी तह ९ मिटर रहेको छ। यहाँ पानीको सतह स्थिर रहेको महाशाखाले जनाएको छ।
यस्तै, सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पानीको सतह ६.२८ मिटर पुगेको छ। त्यहाँ चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर रहेको छ। पानीको सतह बढ्दो क्रममा रहेकाले चेतावनी जारी गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो ३ः५७ बजे तथ्यांक अद्यावधिक गर्दै सम्बन्धित नदी तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

