बागलुङको निसीखोलाका ६८ र पर्वतको जलजलाका ३० परिवारलाई एनआरएनएको राहत
काठमाडौ । बाढीबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका र पर्वतको जलजला गाउँपालिकाका ९८ घरपरिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री वितरण गरेको छ।
बागलुङको निसीखोला जाने सडक बाढीका कारण अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै करिब सात घण्टाको यात्रा गरी प्रभावित क्षेत्रमा पुगेर ६८ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो। बुटवल–पाल्पा–रिडी–वामीटक्सार–बुर्तिबाङ हुँदै निसीखोला पुगेको स्थानीय बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो। उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोज कुमार श्रेष्ठ,प्रवक्ता सोम सापकोटाले वडा अध्यक्ष सूर्यबहादुर घर्तीको समन्वयमा राहत सामग्री वितरण गरिएको हो।
त्यसैगरी, पर्वतको जलजला गाउँपालिका–४, ७ र ८ अन्तर्गत फर्से, ताङमाङ र लामाखेत क्षेत्रमा पुगेर ३० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यको समन्वयमा स्थानीय बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
दुवै स्थानमा प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखी त्रिपाल, म्याट, ब्ल्याङ्केट, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत प्याकेज वितरण गरिएको थियो। प्रति घरपरिवार वितरण गरिएको राहत सामग्रीमा त्रिपाल एक थान, म्याट एक थान, ब्ल्याङ्केट एक थान, सामान राख्ने बाल्टिन एक थान, सानो मग एक थान, चामल २५ केजी, दाल ५ केजी, खाने तेल २ लिटर, नुन २ केजी, मसला ५०० ग्राम तथा साबुन, मञ्जन र ब्रससहितको दैनिक उपभोग्य सामग्रीको एक प्याकेट रहेको थियो।
आफन्तको काजक्रिया सकेका थप ४ परिवारलाई राहत सामाग्री वितरण
भोटेकोशी नदीको बाढीबाट आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका प्रभावित परिवारलाई सहयोगस्वरूप ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ। आज एनआरएनए सचिवालयबाट प्रभावित परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो। यसअघि पनि ४४ परिवारलाई सोही परिमाणमा राहत सामग्री उपलब्ध गराइएको थियो।
प्राविधिक समस्याका कारण रसुवा जाने राहत टोली रोकियो, पर्सि प्रभावित क्षेत्रमा पुग्ने
रसुवाका बाढी प्रभावित परिवारका लागि राहत सामग्रीसहित जाने तयारीमा रहेको एनआरएनएको टोली प्राविधिक समस्याका कारण रोकिएको छ। टोलीले अब पर्सि प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गर्ने भएको छ। रसुवाका प्रभावित ७५ घरपरिवारलाई राहत सामग्री वितरण गर्ने तयारी गरिएको छ। स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित परिवारको पहिचान तथा राहत वितरणको तयारी गरिएको हो।
६ करोड ३४ लाख ४१ हजार १४३ रुपैयाँ संकलन
गत भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड ३७ लाख ८१ हजार २२६ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड ३४ लाख ४१ हजार १४३ रुपैयाँ रुपैयाँ संकलन भएको छ।

