सन्तान दिर्घायुका लागि गरिने जितिया पर्व सम्पन्न

जनकपुरधाम, १९ असोज । सन्तानको दीर्घायु, सुख र समृद्धिको कामनाका साथ मिथिलाञ्चलसहित तराई मधेशका महिलाले श्रद्धापूर्वक मनाउँदै आएको जितिया पर्व आइतबार विधिपूर्वक सम्पन्न भएको छ ।

‘जीवितपुत्रिका व्रत’ का रूपमा समेत परिचित जितियाको समापनसँगै व्रत, पूजा, कथा र धार्मिक अनुष्ठानमा व्यस्त रहेका व्रतालु महिलाले पारण गरेका छन् । यस वर्ष शुक्रबारदेखि सुरु भएको पर्व आइतबार बिहान करिब ८ बजे पारण गरेपछि सम्पन्न भएको हो ।

पर्वको पहिलो दिन व्रतालु महिलाले बिहानै स्नान गरी शुद्ध भएर ‘नहाय–खाय’ विधि पूरा गरेका थिए । त्यसक्रममा घिरौँलाको पातमा तोरीको तेल, सिन्दूर, तोरीको पिना तथा फूललगायत सामग्री राखेर पूजा गर्ने परम्परा छ ।

त्यसपछि शनिबार बिहान सूर्योदयअघि ‘ओँगठन’ गर्ने चलनअनुसार दही–च्युउरा, खीरा तथा विभिन्न फलफूल प्रसादका रूपमा चढाएर दिवंगत सासु, आमा तथा परिवारका अग्रज महिलालाई स्मरण गर्दै पूजा गरिएको थियो । ओँगठनपछि व्रतालु महिलाले निराहार व्रत सुरु गरेका थिए ।

जितिया व्रतलाई कठिन व्रतमध्ये एक मानिन्छ । व्रतका क्रममा पानीसमेत सेवन नगर्ने र थुक निल्नसमेत निषेध मानिने भएकाले व्रतालुले निकै कठोर संयम अपनाउने गर्छन् । अष्टमीको राति व्रतालु महिलाले जिमुतवाहन तथा चुल्हो सियारोसँग सम्बन्धित धार्मिक कथा सुन्ने परम्परा पनि रहेको छ । नवमी तिथिमा पुनः पूजा गरी घिरौँलाको पातमा चामल, अंकुरीलगायत प्रसाद चढाएर पारण गरेपछि व्रतको औपचारिक समापन हुन्छ ।

‘जितिया पावैन बड भारी’

जितिया व्रतको कठिनतालाई मैथिली समाजमा प्रचलित भनाइले समेत झल्काउँछ—‘जितिया पावैन बड भारी…।’ कठोर उपवास र लामो समयसम्म पानीसमेत नपिई बस्नुपर्ने भएकाले व्रतालु महिलाका लागि यो पर्व शारीरिक रूपमा चुनौतीपूर्ण भए पनि सन्तानप्रतिको माया, विश्वास र धार्मिक आस्थाका कारण महिलाहरू उत्साहपूर्वक व्रत बस्ने गर्छन् । जनकपुरधाम–४ की गिरजा देवीले सन्तानको स्वास्थ्य र दीर्घायुका लागि जितिया व्रत बस्ने गरेको बताइन् । उनका अनुसार परम्परागत विधि र नियम पालना गर्दै गरिने यो व्रत कठिन भए पनि परिवारको सुख–शान्तिका लागि महत्वपूर्ण मानिन्छ ।

जितिया पर्व मैथिल समुदायमा मात्र सीमित छैन । तराई–मधेसमा बसोबास गर्ने थारू समुदायले पनि यसलाई विशेष श्रद्धाका साथ मनाउँदै आएका छन् । थारू समुदायमा समेत जिमुतवाहन देवताको पूजा गर्ने, जितियासम्बन्धी धार्मिक कथा श्रवण गर्ने र विभिन्न फलफूल तथा पूजाका सामग्रीले ‘डाली’ भर्ने परम्परा रहेको छ ।

धार्मिक विश्वाससँग जोडिएको जितिया पछिल्लो समय तराई–मधेसको सांस्कृतिक पहिचानसँग पनि जोडिएको पर्वका रूपमा स्थापित हुँदै गएको छ । फरक समुदाय र परम्परामा मनाइए पनि सन्तानको कल्याण, पारिवारिक सुख तथा सामाजिक सद्भावको साझा भावनाले जितियालाई जोड्दै आएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖