ओखलढुंगामा नक्कली नोट सहित दुई जना पक्राउ
ओखलढुंगा । नक्कली नेपाली नोट प्रयोग गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–९ ककनीबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–४ सौरेनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय धुर्बबहादुर खत्री रहेका छन्।
प्रहरीका अनुसार कृषि तथा पशु चौपाया खरिद–बिक्रीका क्रममा नक्कली नोट प्रयोग भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट हजार रुपैयाँ दरका नक्कली जस्तो देखिने १९ थान नोट, बजाज पल्सर २०० सीसी मोटरसाइकल, मोबाइल फोन र दुई वटा बोका बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत ओखलढुंगाबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

