विराटनगरबाट १०१ ग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ
विराटनगर । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगरबाट १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको अररिया नरपतगञ्जका २३ वर्षीय रिजवान अहमद इदरीशी तथा सुनसरी देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय आरविन्द्र यादव र अनिल यादव रहेका छन्।
प्रहरीका अनुसार भारतको फत्तेपुर क्षेत्रबाट सुनसरीको देवानगञ्ज हुँदै खैरो हेरोइन भित्र्याएर कोशी प्रदेशका पहाडी जिल्लामा बिक्री वितरण गर्ने गिरोहबारे सूचना संकलन गर्ने क्रममा उनीहरूलाई विराटनगर महानगरपालिका–११ बाट पक्राउ गरिएको हो।
उनीहरूको साथबाट १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन र तीन थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ।

