सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक
सुभाष कायस्थ/
जनकपुरधाम, २५ असोज । सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पताल विवादमा तानिएको छ । घटनालाई लिएर अस्पतालको उपचार प्रणालीमाथि आलोचना भइरहेका बेला सीमित आईसीयू बेड, दक्ष स्वास्थ्यकर्मीको अभाव र कमजोर पूर्वाधारका कारण गम्भीर बिरामीको उपचारमा चुनौती रहेको तथ्य सार्वजनिक भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१४ निवासी यादवको उपचारमा लापरवाहीको कारण मृत्यु भएको भनी विवादमा तानिएको छ । तर अस्पताल प्रशासन र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचारमा कमी होइन स्राेत साधनको आभाव रहेको स्पष्टीकरण दिएका छन् । उनीहरूले उपलब्ध स्रोतसाधन प्रयोग गरेर उपचार गरिएको दाबी गर्दै आईसीयू बेड खाली नभएकाले यहाँ उपचार नगरिएको भनेका छन् ।
अस्पताल प्रशासनले आइसीयू बेड अन्य गम्भीर बिरामीलाई आईसीयूबाट हटाएर महेशलाई उपलब्ध गराउन नसकिने अवस्था रहेको भन्दै प्रशासनले सबै बिरामीको जीवन समान महत्त्वको हुने तर्क गरेको छ । एउटा बिरामीलाई बचाउन अर्को बिरामीको जीवन जोखिममा पार्न नसकिने भएकाले अन्यत्र उपचारका लागि जान सल्लाह दिइएको अस्पतालको स्पष्टीकरण छ ।
सरकारको बेवास्ता थलिँदै अस्पताल
स्थानीय बुद्धिजीवीहरूको बुझाइमा प्रादेशिक अस्पताल विवादमा तानिनुको प्रमुख कारण संघीय र प्रदेश सरकार रहेको छ । संघीय सरकार र मधेश प्रदेश सरकारको स्वास्थ्य क्षेत्रप्रतिको बेवास्ता हो । धनुषा, महोत्तरी, सिरहा र सर्लाहीसहित विभिन्न जिल्लाका बिरामीको चाप धान्दै आएको अस्पतालमा जम्मा १० वटा आईसीयू बेड मात्र छन् । प्रदेश सरकार स्थापना भएको आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि अस्पतालमा एउटा पनि आईसीयू बेड थप हुन नसकेको छैन भने संघीय सरकार समेतले बजेट व्यवस्थापन गर्न आजसम्म गरेका छ्रैनन ।
अस्पतालका निर्देशक डा. जामुन सिंहका अनुसार बिरामीको चापलाई ध्यानमा राख्दा कम्तीमा ५० वटा आईसीयू बेड आवश्यक छन् । दैनिक एक सयदेखि डेढ सयसम्म सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामी आउने गरे पनि आईसीयू अभावमा कतिपयलाई अन्यत्र रेफर गर्नुपर्ने वा उपलब्ध अवस्थामै सावधानीपूर्वक उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
अस्पतालको सेवा प्रवाहमा बिरामीको चाप अत्यधिक छ । दैनिक करिब तीन सय बिरामी इमर्जेन्सी र एक हजार पाँच सयभन्दा बढी बिरामी ओपीडी सेवाका लागि आउने गरेका छन् । यति धेरै बिरामीको उपचार सीमित स्रोतसाधन र उपकरणका भरमा गर्नुपरेको निर्देशक सिंहको भनाइ छ ।
प्रदेश सरकारले प्रतिष्ठानलाई बजेट उपलब्ध गराएपनि संघीय सरकारले अन्य प्रतिष्ठानलाई २÷३ अर्ब नै बजेट उपलब्ध गराउँदै आएकोमा यस प्रतिष्ठानलाई प्रदेश सरकार स्थापना भएदेखि एक सुकोपनि बजेट उपलब्ध गराएको छैन ।
सर्पदंश घटनापछि प्रतिनिधि सभा सदस्य मनिष झाले अस्पताल बारे नालायकीपन भन्ने शब्द प्रयोगसहित राखेको धारणाको कडा आलोचना भइरहेको छ । संघीय सरकार मातहतको अस्पताल प्रादेशिक अस्पतालभन्दा पनि दयनीय रहेको टिकाटिप्पणी भइरहेको छ । मधेशप्रति हेर्ने संघीय सरकार र सांसदको दृष्टिकोण नै विभेदकारी रहेको भन्ने आलोचना सामाजिक सञ्जालमा भइरहेको छ ।
८ सय बेडको आवश्यकता
२०४८ सालमा एक सय बेडको स्वीकृति पाएको प्रादेशिक अस्पतालको प्रदेश सरकारबाट अपेक्षित स्तरोन्नति र नयाँ दरबन्दीसमेत स्वीकृत भएको छैन । यद्यपि, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएपछि अस्पतालमा केही सुधार आएको दाबी गरिएको छ ।
निर्देशक सिंहका अनुसार एक सय बेडको स्वीकृति भए पनि प्रतिष्ठानको सहयोगमा हाल ३९० बेड सञ्चालनमा छन् । आन्तरिक स्रोतबाट जेनतेन जनशक्ति र अन्य व्यवस्थापन गर्दै आएको अस्पताललाई दैनिक १५ सयभन्दा बढी बिरामीको चाप धान्न कम्तीमा ८०० बेड आवश्यक रहेको उनले बताए । बिरामीको चापअनुसार प्रदेश सरकारले थप जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट उपलब्ध नगराउँदा समस्या थपिएको छ । बिरामीबाट लिइने न्यून शुल्क र प्रदेश सरकारबाट प्राप्त रकममध्ये प्रतिष्ठानले गर्ने सहयोगका आधारमा अस्पताल सञ्चालनको प्रयास भइरहेको छ ।
थप २० आईसीयू बेड सञ्चालनको तयारी
संघीय र प्रदेश सरकार मध्ये कसैले पनि सहयोग नगरेपछि बिरामीको चापको तनावले प्रतिष्ठानको सहयोग र अस्पतालको आफ्नै स्रोतबाट थप २० वटा आईसीयू बेड निर्माण भइरहेको निर्देशक सिंहले जानकारी दिए । उनका अनुसार आईसीयूका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ भने उपकरण आउन बाँकी छ । सिन प्राप्त भएपछि जडान गरी सेवा सञ्चालनमा ल्याइनेछ । थप बेड सञ्चालनमा आएपछि आईसीयू अभावको समस्या केही हदसम्म समाधान हुने उनको भनाइ छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. विनोद यादवले पनि आईसीयू बेड, उपकरण तथा जनशक्ति थप गर्न प्रदेश सरकारसँग पटकपटक लिखित र मौखिक रूपमा माग गर्दा पनि अपेक्षित चासो नदेखाइएको बताए । प्रदेश सरकारले चासो नलिएपछि प्रतिष्ठान र अस्पताल आफैँले थप आईसीयू बेड सञ्चालनको तयारी अघि बढाएको उनको भनाइ छ । डा. यादवका अनुसार आईसीयू सञ्चालनमा उपकरणसँगै दक्ष जनशक्तिको अभाव पनि उत्तिकै गम्भीर छ। एउटा आईसीयू बेडका लागि कम्तीमा चार जना नर्स आवश्यक पर्ने भए पनि ४० जना नर्स हुनुपर्ने अवस्थामा जम्मा १६ जना नर्सले १० वटा आईसीयू बेड सञ्चालन गर्नुपरेको छ ।
सर्पदंश उपचारमा उपलब्धि, जटिल बिरामीमा चुनौती
अस्पतालको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा सर्पदंशका कारण भर्ना भएका कुल एक हजार ७५३ बिरामीमध्ये १० जनाको मृत्यु भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा सर्पदंशका ८२० बिरामी भर्ना भएका थिए। तीमध्ये ५७ जनालाई एएसभी दिइएको थियो। एएसभी प्राप्त गर्ने बिरामीमध्ये ४८ जना निको भएका, तीन जना अन्यत्र उपचारका लागि गएका र छ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ९५३ जना सर्पदंशका बिरामी भर्ना भएका थिए। तीमध्ये ७१ जनालाई एएसभी दिएर उपचार गरिएको थियो । अस्पतालका अनुसार ६६ जना निको भएर घर फर्किएका, एक जना अन्यत्र गएका र चार जनाको मृत्यु भएको थियो। उक्त अवधिमा उपचारका लागि एक हजार २८७ भाइल एएसभी प्रयोग भएको विवरणमा उल्लेख छ । निर्देशक सिंहका अनुसार विगतमा एएसभीको अभाव देखिए पनि पछिल्ला वर्षमा संघीय सरकारबाट पर्याप्त औषधि प्राप्त भइरहेको छ । अहिले सर्पदंशसहित अन्य गम्भीर प्रकृतिका बिरामीको उपचारमा मुख्य समस्या आईसीयू बेड, उपकरण र दक्ष जनशक्तिको अभाव रहेको उनले बताए ।


