कोशी प्रदेशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
विराटनगर । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ कोशी प्रदेशका विभिन्न जिल्लामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
अभियानको पहिलो दिन विभिन्न जिल्लामा प्रभातफेरी कार्यक्रम आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो ।
मंसिर २४ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । अभियानमार्फत लैङ्गिक हिंसाविरुद्ध जानकारी, सचेतना तथा जनचेतनामूलक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।
पीडितको संरक्षण, हिंसा न्यूनीकरण, दण्डहीनताको अन्त्य तथा न्याय सुनिश्चितताका लागि समुदायको सहभागिता र ऐक्यबद्धता अभिवृद्धि गर्ने अभियानको उद्देश्य रहेको छ ।
