दसैँको उत्तम टीका साइत बिहान १०:२६ बजे
काठमाडौं, कात्तिक ४। नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजयादशमीको दिन आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बुधबार विजयादशमीका अवसरमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाएर दसैँ मनाइँदैछ।
टीका लगाउन साइत खोज्नेहरूका लागि समितिले बिहान १०:२६ बजेको समय उत्तम रहेको जनाएको हो। समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत पर्खनुपर्ने हुँदैन। तर राज्य सञ्चालकहरूले भने शुभ साइतमै टीका लगाउनुपर्ने धार्मिक मान्यता रहेको उनले बताएका छन्।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने परम्परा छ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई आशीर्वाद लिने र दिने गरिन्छ।
समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जन गर्ने साइत आज बिहान ८:४९ बजे रहेको छ।
आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्न सक्नेछन्। यस वर्ष कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमा परेको छ।


