बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु, तीन लाखको क्षति
झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको जनाइएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


